Thursday, April 23, 2009

काठमाडौंको फोहरमैला व्यवस्थापन : समस्या एक र समाधान अनेक

-धनप्रसाद आचार्य 'ध्रुव'
भानुभक्तको अमरावती कान्तिपुरी नगरी नेपालको राजधानी काठमाडौंलाई बारम्बार फोहरले सताउने गर्दछ । बढ्दो जनसंख्या अव्यवस्थित शहरीकरण अदुरदर्शी सरकारी नीति मानिसहरुको फोहरमैलालाई हेर्ने नकारात्मक दृष्टिकोण र गैरजिम्मेवारी व्यवहार जस्ता कारणले गर्दा राजधानीको फोहरमैला व्यवस्थापन कार्य दिनानुदिन जटिल बन्दै गएको छ । राजधानीको प्रमुख वातावरणीय समस्याको रुपमा रहेको फोहरमैलाको उचित र प्रभावकारी व्यवस्थापन हुन नसक्दा नगरवासीको स्वास्थ्य र शहरको सुन्दरतामा समेत प्रतिकूल असर परिरहेको छ । काठमाडौंमा यत्रतत्र छरिएको फोहरमैलाले शहरलाई कुरुप बनाएकॊ र फोहरको दुर्गन्धले नगरवासीको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थामा यसको आधुनिक र वैज्ञानिक ढंगबाट व्यावस्थापन गर्ने र महानगरलाई आर्थिक तथा प्रविधिक रुपमा सहयोग गर्ने उद्देश्यले फोहरमैला व्यवस्थापनको क्षेत्रमा निजी तथा सामूदायिक क्षेत्रको उपस्थिति भएको पनि एक दशक भइसकेको छ । विगत तेर्ह वर्ष अगाडि देखि फोहरमैला व्यवस्थापनमा विभिन्न गैरसरकारी संस्थ्ाा र निजी क्षेत्रको उपस्थितिले जनचेतना अभिवृद्धि र जन-सहभागितामूलक कार्यक्रमले राजधानीको फोहरमैला व्यवस्थापन कार्यमा नगरपालिकालाई केही सहज भएको छ र शहर पनि तुलनात्मक रुपमा सफा हुँदै गएको छ । यता जनसंख्या र शहरीकरणको बृद्धिले गर्दा फोहरमैलाको मात्रा दिनानुदिन बढ्दै गएको छ विभिन्न अध्ययनले निजी तथा सामुदायिक संस्थाहरुल्ााई संलग्न गराई जनसहभागितामा मात्र फोहरमैलाको प्रभावकारी व्यवस्थापन हुन सक्ने तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर काठमाडौ महानगरपालिकाले निजी क्षेत्रलाई संलग्न गराउने नीति प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सकेको छैन । निजी क्षेत्रले साचालन गरेका विभिन्न कार्यक्रम मध्ये घरदैलो फोहरमैला संकलन कार्यक्रम प्रभावकारी हुँदै आएको छ । फोहरमैला घर-घरबाटै संकलन हुँदा तुलनात्मक रुपमा शहर सफा हुँदै गए पनि यसको कारण निजी तथा गैससको प्रभावकारी कि्रयाकलापबाट हो भन्ने कुरा थोरै शहरवासीलाई मात्र थाहा छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (JICA) ले अठार महिनाको अध्ययनबाट निजी क्षेत्रको संलग्नता बढाउन र जनसहभागितामा फोहरमैलाको व्यवस्थापन गर्न सुझाव दिदैं नुवाकोटको सिसडोलमा अल्पकालिन ल्याण्डफिल साईटको निर्माण गरी करिव बीस वटा कन्टेनर ट्रक समेत सहयोग उपलब्ध गराएको छ । तर (JICA) को अध्यनले देखाएको बाटोमा महानगरपालिका हिड्न सकेको छैन र निजी क्षेत्रको संलग्नता सम्बन्धि घोषित नीति कार्यान्वयन गर्ने कुरा छोडेर निजी क्षेत्रलाई विस्थापित गर्ने व्यवहार गरिरहेको देखिन्छ । फोहरमैला व्यवस्थापन कार्यमा खर्च हुने रकममा निजी क्षेत्रको उपस्थितिले महानगरको वार्षिक झण्डै चार करोड रुपैंया बचत र शहर पनि सफा भइरहेको कुरा स्वीकार गर्दै निजी क्षेत्र बिना फोहर व्यावस्थापन गर्न नसक्ने धारणा महानगरले बारम्बार दोहार्याउँदै आएका छन् तर महानगर निजी क्षेत्रको कार्यलाई सुनिश्चित गरी त्यहाँ संलग्न सर्वहारा वर्गका मजदुर कर्मचारीहरुको रोजगारीको सुनिश्चित गर्ने कार्यमा प्रष्ट हुनसकेको छैन भने अर्कातिर निजी क्षेत्र प्रतिको अस्पष्ट दृष्टिकोणले र अन्यौलको वातावरणमा काम गर्न नसक्ने भन्दै निजी क्षेत्रमा संलग्न संस्थाहरुले गर्दै आएको काम छोड्ने र भूमिका न्यूनिकरण गर्न थालेको देखिन्छ जसले गर्दा फोहर व्यवस्थापनकॊ समस्या अझ जटिल हुने देखिन्छ । समस्या त्यत्तिमात्र छैन नगरबाट संकलित फोहरमैला टेकुस्थित महानगरको ट्रान्सफर स्टेशनमा स्थानीय बासिन्दाको विरोधमा पटक-पटक बन्द गरिन्छ त्यस्तै सिसडोल ल्याण्डफिल साईटमा पनि विभिन्न माग राखी विभिन्न राजनैतिक दलका संगठन र स्थानीय वासिन्दाले विरोध गदै बारम्बार बन्द गराउने कार्य गर्दै आएकाछन् । महानगरपालिकामा संलग्न विभिन्न कर्मचारी संगठनकॊ राजनैतिक स्वार्थ र आफ्ना माग पूरा गराउने बहानामा फोहरमैला संकलन तथा व्यवस्थापनको कार्य बन्द गरिन्छ यस्ता कि्रयाकलापहरुकॊ प्रभाव प्रत्यक्ष जनस्वास्थ्यमा पर्न जान्छ । यस्ता विविध समस्याका बीचमा रहेको फोहरमैला व्यावस्थापन कार्य काठमाडौ महानगरपालिकामा मात्र दैनिक करिब चार सय टन फोहर उत्पादन हुन्छ अन्य चार नगरपालिकाको पनि समस्या त्यस्तै छ । समस्या समाधानका उपायहरुः देशको राजधानी र विश्व सम्पदा सू्चीमा रहेको शहरमा लाखौं मानिसहरुको प्रत्यक्ष सरोकार राख्ने फोहरमैला व्यवस्थापन जस्तो संवेदनशील विषयमा भएको राजनीतिक खेलवाड बन्द गरी फोहरमैला व्यवस्थापन कार्यलाई अत्यावश्यक सेवा अन्र्तगत राखी बन्द हड्ताल जस्ता कार्य गर्न बन्देज लगाउने कानून र कानूनको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ । महानगरपालिकाले त्यहाँ संलग्न कर्मचारीहरुको रोजीरोटीको ग्यारेन्टी गरी निजी तथा सामूदायिक क्षेत्रको संलग्नता बढाई उनीहरुको कामको ग्यारेन्टी गरी अधिकार र कर्तव्यको निर्धारण गर्नुं पर्दछ र त्यस काममा संलग्न व्यक्तिहरुलाई प्रोत्साहित गर्ने नीति कार्यान्वयन गरिनुपर्ने आवश्यकता छ । फोहरमैला व्यवस्थापनमा निजी तथा सामूदायिक क्षेत्रलाई संलग्न गराउँदा हुने फाइदाहरुको वारेमा कर्मचारीहरुलाई यथोचित जानकारी गराउनु पर्ने देखिन्छ । बढ्दो फोहरको मात्रालाई मध्यनजर गरी फोहर ट्रान्सफर स्टेशनमाको संख्या तत्काल थप गर्नुपर्ने देखिन्छ । निजी तथा सामूदायिक क्षेत्रसँग तत्काल साझेदारी सम्झौता गरी कामको बाँडफाँड गरी निजी क्षेत्रले काम गर्न सक्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ । महानगरसँग जोडिएका १४ गा।वि।स। क्षेत्रबाट उत्पादन हुने फोहरको व्यवस्थापनको लागि सम्बन्धित गा।वि।स काठमाडौ जि.वि.स. र महानगरपालिका बीच समन्वय गरिनुपर्दछ । फोहरलाई फालिने वस्तुको रुपमा हेर्ने र फोहरलाई पुर्ने काम (Land filling) गरेर मात्र समस्याको समाधान हुन्छ भन्ने मान्यता त्यागी 3R सिद्धान्त घटाउने पुनः प्रयोग गर्ने र पुनः उत्पादन गर्ने अनुसार फोहरलाई बर्गीकरण गरी घरायसी स्तरमा सामूदायिक स्तरमा र राष्ट्रिय स्तरमा कम्पोष्ट प्लान्ट पुनःप्रयोग सामान खरिद विक्री केन्द्र र प्रशोधन केन्द्रहरुको स्थापना गनुपर्ने देखिन्छ ।
स्मरण रहोस् काठमाण्डौं उपत्यकाको फोहरमा करिव ६९ प्रतिशत फोहर जैविक हुने गर्दछ जसलाई सजिलै कम्पोष्ट मल बनाउन सकिन्छ जुन हाम्रो जस्तो कृषि प्रधान देशको लागि वरदान सावित हुन सक्दछ । समस्या समाधानको लागि चाहिएको छ सम्बन्धित सरकारी निकायहरुको प्रविद्धता र सबैको वातावरण मैत्री बानी व्यवहार ।
काठमाडौंको फोहरको वर्गीकरण
फोहरको प्रकार (प्रतिशतमा)
जैविक-६९
कागज-९
प्लाष्टिक-९
कपडा-३
धातु-१
शिशा-३
रबर-१
निर्माण सामाग्री-२
अन्य-३
जम्मा-१००
लेखक वातावरण संरक्षण अभियान ECI का अध्यक्ष तथा वातावरण संरक्षण गैसस महासंघ नेपालका महासचिव हुनुहुन्छ ।

No comments:

Post a Comment