Thursday, May 14, 2009

राष्ट्रभन्दा भैंसी प्यारो ?

-किशोर चाम्लिङ
मुलुक अहिले अत्यन्त संवेदनशील घडीमा उभिएको छ । संक्रमणकालीन अवस्थामा गुजि्ररहेको यो देशलाई पार लगाउनुको साटो विदेशी दलालहरुको चंगुलमा फसेर राजनीतिक कि्रडास्थल बनाइनुले गर्दा नै देशले यो अवस्था बेहोर्नुपरेको हो । यस देशलाई कानुनी राज्य भन्ने कि नभन्ने द्धिविधा उत्पन्न भएको छ । पछिल्लो पटक राजनीतिक वृत्तमा निकै चर्चा पाएको सेनापति प्रकरणमा भएको गतिविधिले यो शंका उब्जाएको छ । जन आन्दोलनका दोषी रुक्माङगत कटवाललाई पदमुक्त गर्ने सरकारी योजनालाई असफल पार्न खोज्ने विदेशी शक्ति र उसको इशारामा नाच्ने देशी प्रतिगमनकारीहरुलाई धुलो चटाउँदै अन्नतः सरकारले कटवाललाई कारवाही गरेरै छाड्यो । यसका लागि एनेकपा माओवादी सरकारलाई साधुवाद दिनैपर्छ नेपाली जनताले । विडम्बना गरिमामय पदमा रहेर सम्मानित मानिएका राष्ट्रपति रामवरण यादवले अरुकै इशारामा सरकारी निर्णयलाई धोती लगाउदै समानान्तर सरकारको स्थिति सिर्जना गरी कटवाललाई पुर्नवहालीको पत्र पठाएर तानाशाही ज्ञानेन्द्रको झ-झल्को दिलाए । उनले नेपाली आस्था र आदर्शले मान्दै आएको सम्मानित राष्ट्रपति पदको त्यतिबेला नै धज्जी उडाए । अहिलेसम्म निस्कंलक भएर परिचित आफ्नो छवि पनि धुलोमै मिलाए । रक्षक नै भक्षक भएको यसै दिनदेखि देशमा रडाको मच्चिएको छ । गठबन्धन सरकारको प्रधानमन्त्री प्रचण्डले यहि विषयलाई लिएर राजिनामा दिएका छन् र अहिले देशमा राजनैतिक जोड घटाउको स्थिति सृजना भएको छ । यो मुलुककै लागि र्दुभाग्य हो । यता राष्ट्रपतिको कदम फिर्ता नलिएसम्म सडक र सदनबाट आन्दोलन जारी राखिने भएको छ । अर्कोतिर राजनीतिक निकास खोज्नुको साटो संविधानसभाको हरुवा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर आ-आफ्नो स्वार्थपूर्ति गर्न अहोरात्र लागिदैछ । संविधानसभाको सबैभन्दा ठूलो दल एनेकपा माओवादीलाई प्रतिपक्षमा राखेर सरकार गठन गर्नु युक्तिसंगत देखिँदैन र यो प्रायः असम्भव पनि छ । उता राष्ट्रपति आफ्नो गल्तीको महसुश गर्नको साटो भैंसी चराउन गाउँ जाने बाटो नै सुगम देख्दैछन् । बुद्धिजिवी नागरिक समाज तथा आम नेपालीले उनको कदमलाई आत्माघाती भनेर ठहर गर्दा पनि उनीले सच्चिने मेसो देखाएका छैनन् । यतिबेला भीरमा जाने गाईलाई राम्…राम्…। भन्न बाहेक उनलाई भन्नु केही छैन । मुलुकको अहिले तड्कारो अवस्था भन्नु नै समय सीमाभित्र संविधान निर्माण गर्नु नै हो । यसबेला सहमतिको राजनीति भन्दा अर्को विकल्प नै छैन । राष्ट्रपतिले देशको निकास चाहेका छन् भने सच्चिनुपर्छ । सहमतिको सरकार बनाएर अघि बढनु नै सर्वोत्तम विकल्प हुनेछ । यसमा सबैको ध्यान पुगोस् ।

No comments:

Post a Comment